

विराटनगर, ११ साउन ः कोशी प्रदेश सभामा आजको बैठकले ‘योगदानमूलक निवृतभरण कोष स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतले स्वीकृत गरेको छ ।
कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले सदनमा पेस गर्नु भएको सो प्रस्तावमा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्नु भएको थियो भने विधेयकमा सैद्धान्तिक छलफल पनि सुरु भइ कोशी प्रदेश सभा सदस्य रमेशकुमार बस्नेतले बोल्नु भएको थियो ।
समसायिक विषय
कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले विगत केही दिन देखि मेरो विरुद्धमा सञ्चार माध्यममा आइरहेका समाचार झुठ्ठा र कपोकल्पित रहेको बताउनुभएको छ ।
उहाँले मैले नखाएको विष मलाई कसरी लाग्छ प्रतिप्रश्न गर्दै मेरो सचिवालयको कर्मचारीको क्यूआर कोड मार्फत आफ्ना मातहतका कर्मचारीसँग रकम मागेको कुरा गलत हो भत्रुभयो ।
उहाँले सञ्चार माध्यममा आएको व्यक्तिको क्यूआरकोडको छानबिन गरी सत्यतथ्य बाहिर आउनु पर्ने धारणा राख्दै आफू कसैसँग पनि लेनदेन र घुस नलिएको दाबी गर्नुभयो ।
शून्य समय
शून्य समयमा प्रदेशको समसामयिक विषयमा कोशी प्रदेश सभाका सदस्य गोम्बु शेर्पा, गणेशप्रसाद उप्रेती, गोपालबहाुर बुढाथोकी, मीना श्रेष्ठ, कमला दर्नाल, होमबहादुर थापा, मैया श्रेष्ठ, सुनिताकुमारी गुरुङ र मानबहादुर लिम्बूले बोल्नुभएको थियो ।–––