

विराटनगर, १३ साउन ः कोशी प्रदेश सभाको आजको बैठकमा ‘ सामाजिक विकास संस्था ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफल सुरु भएको छ ।
कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले सो विधेयक माथि विचार गरियोस् भनी सदनमा प्रस्ताव गर्दा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्नु भएपछि सर्वसम्मतले पारित भएको थियो ।
विधेयकको सैद्धान्तिक छलफलमा कोशी प्रदेश सभाको सदस्य राधाकृष्ण खनाल र किशोरचन्द्र दुलालले आ–आफ्ना धारणा राख्नुभएको थियो ।
मन्त्रालयको धारणा
आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले सदनमा उठेका प्रश्न एवं जिज्ञासाका सम्बन्धमा जवाफ दिँदै कोशी प्रदेशका यातायात कार्यालयलाई सुशासन र नागरिकमैत्री बनाई एकरुपता ल्याउने प्रयास भइरहेको बताउनुभएको छ ।
उहाँले सुनसरीको इटहरी, मोरङको विराटनगर र झापाको विर्तामोड स्थितका यातायात कार्यालयमा प्रदेश सरकारकै निरोगीता जाँच गर्ने चिकित्सक व्यवस्था गरेको जानकारी दिँदै उहाँले भत्रुभयो, ‘ प्रदेश सरकारले व्यवस्था गरेको चिकित्सक योग्य छन् र केही दिन पछि पहाडी जिल्लाका यातायात कार्यालयमा पनि जिल्ला अस्पतालसँग समन्वय गरी सरकारी चिकित्सक राख्ने प्रबन्ध हुन्छ ।’
उहाँले यातायात कार्यालयमा हुने चलखेल रोक्न अहिलेसम्म ४४ जना विचोलियालाई कारवाही गरेको जानकारी दिँदै प्रत्येक कार्यालयमा निःशुल्क नागरिक सहायता कक्षको व्यवस्था भएको छ भत्रुभयो ।
आगामी आर्थिक वर्ष भित्रमा सबै यातायात कार्यालयमा विद्युतीय प्रणाली सेवा सुरु हुने जानकारी दिँदै सवारी अनुमति पत्र लिन जाने सेवाग्राहीले तिर्नु पर्ने शुल्कमा एकरुपता ल्याई रु३०० निर्धारण भएको छ भत्रुभयो ।
सवारी अनुमति प्रमाणपत्र लिने सेवाग्राहीले जाँच दिएकै दिन परिणाम घोषणा हुने व्यवस्था मिलाईसकेको जनाउँदै मन्त्री भण्डारीले तराईका जिल्लामा अहिले देखिको खडेरीको विषयमा संकटग्रस्त क्षेत्र घोषणा गर्ने अधिकार प्रदेश सरकारको नरहेको स्पष्ट पार्नु भयो ।
उहाँले मालपोत कार्यालयमा नामसारी वा रजिष्ट्रशन गर्दा महिलाले महिला भएको पालिकाबाट सिफारिश लिनु पर्ने सामान्य त्रुटीको कारण भएपनि आर्थिक मामिला तथा योजना मन्त्रालयबाट सिफारिश लिनु नपर्ने परिपत्र जारी भइसकेको जानकारी दिँदै मन्त्री भण्डारीले सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सवारी चालक अनुमतिपत्रमा कडाई गरेको उल्लेख गर्नुभयो ।
शून्य समय
शून्य समयमा कोशी प्रदेश सभाका सदस्य सपना दर्जी, लखीकुमारी गणेश, इस्राईल मन्सुरी, रमेशकुमार बस्नेत, निरादेवी खनाल, खिनु लङ्वा लिम्बू र गोम्बु शेर्पाले समसामयिक विषयमा बोल्नु भएको थियो ।–––