

विराटनगर, १६ साउन ःनेकपा (एकीकृत समाजवादी)पार्टीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन सरकार निरन्तर सञ्चालन हुने बताउनु भएको छ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरागर्दै उहाँले नेकपा एमाले र नेपाली कांग्रेसको संसदमा वहुमत र सहमती कायम रहुन्जेलसम्म सरकार परिवर्तन हुन नसक्ने प्रष्ट पार्नु भयो ।
पूर्व प्रधानमन्त्री नेपालले सम्मानित नेता झलनाथ खनालले पार्टी विरुद्ध बोल्नु भएको हो भने नैतिकताको आधारमा राजीनामा दिनु पर्ने बताउनु भएको छ।
उहाँले आफु विरुद्ध पतञ्जलीको जग्गा सम्बन्धी भ्रष्टाचारको मुद्दा पूर्वाग्रह रुपमा लगाइएको हो भन्दै हदबन्दी भन्दा वढी जग्गा विक्री गर्न पाउन जिल्ला तहदेखि सर्वसम्मत रुपमा निर्णय भएकोले यो भ्रष्टाचारको मुद्दा नै होइन प्रष्ट पार्नुभयो ।
अध्यक्ष नेपालले भन्नुभयो,‘ पतञ्जलीको जग्गा विक्री प्रकियामा कुनै कानुन उलङ्घन नभएकोले वढी जग्गा विक्रीबाट नेपाल सरकारलाई फाइदा पुगेको बताउनु भयो ।’
उहाँले नेकपा माओवादी केन्द्रसँग विश्वासको वातावरण तयार गर्न एवं समाजवादी मोर्चालाई निरन्तरता दिन छलफल एवं बार्ता भइरहेको जानकारी दिनु भयो ।
नेता नेपालले मोर्चामा मुलुकको राजनीति चुनौतिहरुलाई सामाना गर्न र विचारको मुद्दा मिल्ने लोकतान्त्रिक शक्ति एवं वामपन्थी घटकहरुसँग सहकार्य गरी अगाडि वढ्न मोर्चा निर्माणको मुख्य उद्देश्य रहेको विचार राख्नु भयो ।
उहाँले पार्टीको निर्णय उलङ्घन गर्ने रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधिएको र आगामी बैठकले निर्णय गर्ने विश्वास जनाउनु भयो ।
नेता नेपाल सुनसरीको इटहरीमा पार्टीको कोशी प्रदेश सचिवालयमा हुने बैठकमा सहभागी आउनु भएको हो ।–––