

विराटनगर १७ साउन ः नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेकांमा युवाहरुलाई आवद्ध गराए लोकतन्त्रलाई वलियो हुने बताउनु भएको छ ।
नेपाली कांग्रेस विराटनगर ४ नम्बर वडा समितिले आज आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहमा उहाँले लोकतन्त्रको स्थायित्वका लागि कांग्रेसप्रति युवाको आकर्षण बढाउन सुझाव दिनु भयो। प्रतिनिधि सभाका सदस्य समेत रहनु भएका नेता डा कोइरालाले ‘लोकतन्त्रको पर्यावाची नै नेकां भएकोले यो कमजोर भएमा लोकतन्त्र र देश कमजोर हुने धारणा राख्नु भयो ।
उहाँले भन्नु भयो,‘लोकतन्त्रको स्थायित्व र देशको विकासका लागि कांग्रेसको भूमिका बारे युवाहरुमा जनचेतना जागृत गराउनु आजको आवश्यक्ता भएको छ। ’
नेता डा कोइरालाले जीवन्त र लोकतान्त्रिक पार्टीमा आन्तरिक प्रतिस्पर्धा हुनुपर्छ भन्दै अन्य पार्टीहरूसितको प्रतिस्पर्धामा कांग्रेस एकढिक्का भएर लाग्न जोड दिनुभयो ।
राजनीतिक दलको नेता भएपछि अन्य दलका नेताहरुसँग भेटघाट गर्नु सामान्य भए अनुसार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल( प्रचण्ड) लगायतका नेताहरुसित आफुले भेटघाट एवं छलफल गरेको बताउनु भयो ।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की,राष्ट्रियसभाका पूर्व सदस्य एवं नेकां कोशीका उपसभापति रमेशजंग रायमाझी, सहमहामन्त्री डा. प्रमिला गच्छदार, मोरङ कांग्रेसका सहसचिव सञ्जय मण्डल, महानगर समितिका सभापति दीपक चापागाईं, नेता चुमनारायण तबदार, चेतराज रेग्मी, देवचन्द्र घिमिरे, केशव गिरी, महिला संघकी केन्द्रीय सदस्य डा. सीता घिमिरे, वडा सभापति राजकुमार तबदारलगायतले मुलुकको आर्थिक परिवर्तनको नेतृत्व नेकांले गर्न सुझाव दिनु भयो ।
सो अवसरमा ७२ वर्ष उमेर पार गरेका ज्येष्ठ क्रियाशील सदस्यहरु सुरेश तिम्सिना, सियाराम मण्डल राजवंशी, तेतरी राजवंशी, कृष्णमोहन कार्की, मणिराज निरौला, दुखाराम गच्छदार, नखबहादुर खड्का, साजीलाल माझी, थिरबहादुर नेपाली र हेमनारायण चौधरीलाई सम्मान गरिएको थियो । –––