

विराटनगर १८ साउन । विराटनगरको एभरेष्ट बोर्डिङ स्कुलका विद्यार्थीले नगरसभा देखि संयुक्त राष्ट्रसंघ महासभा सम्मको अभ्यास गर्ने भएका छन् ।
विद्यालयले विद्यार्थीलाई शिक्षण सिकाईसँगै व्यवहारिक ज्ञान दिने उद्देश्यले नगरसभा, प्रदेशसभा, प्रतिनिधिसभा, राष्ट्रियसभा, ब्रिटिस सभा, अष्ट्रेलियन सभा, संयुक्त राष्ट्रसंघीय महासभाको अभ्यास गराउने तयारी गरिएको प्राचार्य टिकाराम पुरीले जानकारी दिनु भयो ।
पहिलो अभ्यासका रुपमा विद्यालयले ‘प्रथम एभरेष्ट नमूना संयुक्त राष्ट्रसंघको अभ्यास’को तयारी गरेको उहाँले बताउनु भयो ।
विद्यार्थीलाई विभिन्न सभाका बारेमा अभ्यास गराउनु आवश्यक रहेको प्राचार्य पुरीले बताउनुभयो ।
विद्यालयद्वारा आज पत्रकार सम्मेलन गरि संयुक्त राष्ट्रसंघको अभ्यास आगामी साउन २१ देखि २३ सम्म एभरेष्ट कलेज परिसरमा आयोजना गरिने आयोजक कमिटीका संयोजक विद्यार्थी इशल भट्टराईले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
ग्लोबल हेल्प फाउन्डेसनसँगको सहकार्यमा हुने नमूना सभामा विद्यार्थीहरुको क्षमता अभिवृद्धि गरि अन्तर्राष्ट्रिय स्तरका ज्वलन्त समस्याहरुको पहिचान र समाधानका लागि विकल्पहरु खोज्न सिकाउने, विद्यार्थीहरुको नेतृत्व र व्यक्तित्व विकास गराउने उद्देश्य रहेको छ।
यसैगरी अन्तर्राष्ट्रिय नीति, कुटनीति, सम्वन्ध, नियम समस्याहरुका विषयमा तार्किक विश्लेषण गर्ने सामथ्र्य बढाउँने, समालोचनात्मक चेतको विकास गराउँदै सहकार्यको भावना जागृत गराउने लगायतका उद्देश्य रहेको संयोजक भट्टराईले जानकारी दिनुभयो ।
नमूना संयुक्त राष्ट्रसंघको अभ्यासका लागि एजेन्डा पनि तय गरिएको छ । समितिहरुमा छलफलका लागि संयुक्त राष्ट्र संघको महासभामा निशस्त्रीकरण र अन्तर्राष्ट्रिय सुरक्षा, राष्ट्रसंघ मानव अधिकार परिषदमा कब्जा गरिएका क्षेत्रहरूमा मानव अधिकार उल्लङ्घनहरूलाई सम्बोधन गर्ने, विश्व स्वास्थ्य संगठनमा कोभिड –१९ पछि विद्यालय र समुदायहरूमा मानसिक स्वास्थ्य सहयोग सुनिश्चित गर्ने, संयुक्त राष्ट्रसंघ वातावरण कार्यक्रममा दिगो कृषि मार्फत जलवायु लचिलोपन प्रवद्र्धन गर्नु रहेको छ।
यस्तै दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनमा विपद् तयारी र प्रतिक्रियाको लागि क्षेत्रीय सहयोगलाई सुदृढ गर्ने, अन्तर्राष्ट्रिय प्रेसमा पत्रकारिता कभरेज, समाचारपत्र विकास र अन्तिम दिन पत्रकार सम्मेलन गर्ने गरि विभिन्न समितिमा छलफलका एजेण्डाहरु निर्धारण गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । नमूना संयुक्त राष्ट्रसंघको अभ्यासमा ३३ जना विभिन्न देशका सांकेतिक प्रतिनिधिहरुको उपस्थिती रहने आयोजक समितिका संयोजक भट्टराईले बताउनुभयो ।–––