

विराटनगर, २१ साउन ः विराटनगरको एभरेष्ट बोर्डिङ स्कुलमा संयुक्त राष्ट्रसंघको तीन दिने नमूना अभ्यास आजदेखि शुरु भएको छ ।
कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले नमूना अभ्यासको शुभारम्भ गर्दै द्वन्द्वका समयमा संयुक्त राष्ट्रसंघको भूमिका महत्वपूर्ण हुने गरेको बताउनु भयो ।
उहाँले विश्वका विभिन्न देशहरुमा अहिले युद्ध भईरहेको समयमा संयुक्त राष्ट्रसंघको भूमिकाका विषयमा एभरेष्ट स्कुलले गरेको नमूना अभ्यास महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
विद्यार्थीले गरेका छलफलले विश्व राजनीतिमा पनि राम्रो सन्देश दिने भन्दै मन्त्री राईले विद्यार्थीले दिएको सुझाव कोशेढुङ्गा सावित हुने अपेक्षा लिएको बताउनुभयो ।
विद्यालयका प्राचार्य टीकाराम पुरीले एभरेष्ट स्कुलले पहिलो पटक आयोजना गरेको नमूना संयुक्त राष्ट्रसंघ सभाले विद्यार्थीहरुको क्षमता अभिवृद्धि गरि अन्तर्राष्ट्रिय स्तरका ज्वलन्त समस्याहरुको पहिचान र समाधानका लागि विकल्पहरु खोज्न सिकाउने धारणा राख्नुभयो ।
नमूना संयुक्त राष्ट्रसंघको अभ्यासमा एभरेष्टका विद्यार्थीहरुले विभिन्न देशका सांकेतिक प्रतिनिधिहरुको रुपमा सहभागि छन् ।
उनीहरुले निःशस्त्रीकरण र अन्तर्राष्ट्रिय सुरक्षा, राष्ट्रसंघ मानव अधिकार परिषदमा कब्जा गरिएका क्षेत्रहरूमा मानव अधिकार उल्लङ्घनहरूलाई सम्बोधन गर्ने, विश्व स्वास्थ्य संगठनमा कोभिड –१९ पछि विद्यालय र समुदायहरूमा मानसिक स्वास्थ्य सहयोग सुनिश्चित गर्ने जस्ता विषय उठाउने छन् ।
यस्तै संयुक्त राष्ट्रसंघ वातावरण कार्यत्रक्रममा दिगो कृषि मार्फत जलवायु लचिलोपन प्रवद्र्धन गर्ने, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनमा विपद् तयारी र प्रतिक्रियाको लागि क्षेत्रीय सहयोगलाई सुदृढ गर्ने लगायतका एजेन्डामा छलफल गर्ने आयोजक कमिटीका संयोजक इशल भट्टराईले जानकारी दिनुभयो । कार्यक्रममा कक्षा ८ देखि १२ सम्मका दुई सय विद्यार्थी सहभागि छन् ।–––