विराटनगर । विराटनगर–५ स्थित एभरेस्ट सेकेन्डरी स्कुलले मतदानमार्फत शैक्षिक सत्र २०८३ का लागि विद्यार्थीहरूको प्रमुख (प्रिफेक्ट) तथा उप–प्रमुख (डेपुटी प्रिफेक्ट) चयन गरेको छ । विद्यालयले लोकतान्त्रिक अभ्यासको प्रत्यक्ष अनुभव गराउने उद्देश्यले मतदानमार्फत विद्यार्थीहरूको प्रमुख तथा उप–प्रमुख चयन गरेको हो । निर्वाचनमा पूर्ण रूपमा व्यवस्थित मतदान केन्द्र र गोप्य मतदानको व्यवस्थाबीच विद्यार्थीहरूले छुट्टाछुट्टै मतपेटिका मार्फत आफ्नो मतदान गरेका थिए ।
आधारभूत तह प्रमुखमा कक्षा ८ की आरुबी भट्टराई र उप–प्रमुखमा कक्षा ७ बाट सिवान्सु कर्ण निर्वाचित भए । यस्तै माध्यामिक तहमा मान्यता बस्नेत प्रमुखमा निर्वाचित हुँदा अरिनजंग थापा उप–प्रमुखमा निर्वाचित भए । प्रमुख र उप–प्रमुखले विद्यार्थी र विद्यालय बिचमा बसेर समन्वय गर्ने तथा विद्यार्थीको हकहितमा भूमिका खेल्नेछन् ।
विद्यालयका भाइस प्रिन्सिपल टीएन भण्डारीका अनुसार हरेक वर्ष नयाँ शैक्षिक सत्र सुरु भइसकेपछि मतदानमार्फत विद्यार्थीहरूको प्रमुख र उप–प्रमुख चयन गर्ने गरिएको छ । ‘आधारभूत र माध्यमिक तहमा छुट्टाछुट्टै प्रमुख र उप–प्रमुख चयनका लागि निर्वाचन गर्ने गरिएको छ’, भण्डारीले भने, ‘यो प्रक्रिया हामीले लामो समयदेखि प्रयोग गरिरहेका छौं । यसले विद्यार्थीको नेतृत्व क्षमता बढाउनकासाथै निर्वाचन प्रक्रियाको बारेमा प्रत्यक्ष अनुभव गर्ने अवसर प्राप्त हुन्छ ।’
यो निर्वाचन विद्यार्थीहरूको नेतृत्व चयनका लागि मात्र सीमित नभई विद्यार्थीहरूलाई देशको निर्वाचन प्रणाली, मतदानको महत्त्व र नेतृत्वको जिम्मेवारीबारे व्यावहारिक ज्ञान प्रदान गर्न महत्वपूर्ण हुने विद्यालयले जनाएको छ ।