विराटनगर ,२१ असोज । आईटीएफ तेक्वान्दोको २६औँ राष्ट्रिय प्रतियोगिता विराटनगरमा आयोजना हुने भएको छ ।
मोरङ जिल्ला आईटीएफ तेक्वान्दो संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा यही असोज २५ र २६ गते प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
संघद्धारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारीका बारेमा आयोजकले उक्त जानकारी दिएको छ ।
मोरङ जिल्ला आईटीएफ तेक्वान्दो संघका अध्यक्ष ओमकुमार श्रेष्ठले प्रतियोगितालाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी भइरहेको जानकारी दिनु भयो ।
प्रतियोगितामा सातवटै प्रदेश तथा तीन विभागीय टोलीको सहभागिता रहने छ ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष एवं कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य प्रवीणकुमार कार्कीले प्रतियोगितामा पुरुषतर्फ (९०) र महिलातर्फ ८० गरी १७० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा एकल स्पाइरिङ, ग्रुप स्पाइरिङ, एकल प्याटन, ग्रुप प्याटन र सेल्फ डिफेन्स गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछ । एकल स्पाइरिङमा पुरुषतर्फ ४५ देखि ५० किलो तौल समूहदेखि ८६ किलोभन्दा माथि तथा महिलातर्फ ४० देखि ४५ किलोदेखि ७६ किलोभन्दा माथिका तौल समूहमा प्रतिस्पर्धा हुने कार्कीले बताए । उनका अनुसार ग्रप स्पाइरिङमा पुरुष र महिला दुवैतर्फ प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै, प्याटनतर्फ हरियो, निलो, रातो, कालो प्रथम डन, दोस्रो डन र तेस्रो डनका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ग्रुप प्याटन तथा सेल्फ डिफेन्समा पनि पुरुष र महिला खेलाडीको सहभागिता रहनेछ ।
ञप्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नेपालको राष्ट्रिय टोलीमा छनोट गरी बन्द प्रशिक्षणमा राखिनेछ । छनोट भएका खेलाडीले आगामी मंसिर ४, ५ र ६ गते काठमाडौंमा आयोजना हुने आठौँ दक्षिण एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् ।
प्रतियोगितामा महासंघका प्रतिनिधि तीन जना, अम्पायर ३५ जना, प्रशिक्षक तथा व्यवस्थापक ३) जना र स्थानीय अम्पायर पाँच जनासहित करिब २४३ जनाको प्रत्यक्ष सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन असोज २५ गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने कार्यक्रम छ ।
समापन असोज २६ गते कोशी प्रदेशकी सामाजिक विकासमन्त्री गीता तिम्सिनाले गर्ने कार्यक्रम रहेको जानकारी अध्यक्ष कार्कीले दिए ।–––