विराटनगर,२४ फागुन ः विराटनगरमा जारी कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा लुम्बिनी र मधेश प्रदेश विजयी भएका छन् ।
मोरङ क्रिकेट सँघको आयोजनामा विराटनगर–१९ को बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा विहिबार भएको पहिलो खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई सात विकेटले पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरको खेलमा १७ दशमलव एक बलमा सवै विकेट गुमाई ९० रन बनाएको थियो । गण्डकीका लागि दिपक डुम्रेले २८ रन, इश्वर क्षेत्रीले १८ रन र समिर कँडेलले ११ रन बनाएका थिए ।
लुम्बिनीका विर मगरले चार विकेट लिएका थिए । उनले तीन दशमलव एक बलमा १६ रन खर्चेका थिए । त्यस्तै निर्मल गुरुङ र कृष्ण कार्कीले समान दुई–दुई विकेट लिएका थिए ।
जवाफमा ९१ रनको लक्ष्य पाएको लुम्बिनीले १६ दशमलव एक बलमा तीन विकेट गुमाई लक्ष्य भेट्टाएको थियो । लुम्बिनीका देव खनालले ३४ रन, आकाश त्रिपाथी २९ रनमा अविजित रहे ।
गण्डकीका सुवाश भण्डारीले दुई विकेट तथा सन्दिप पराजुलीले एक विकेट लिएका थिए । यस्तै दोस्रो खेलमा मधेश प्रदेशले घरेलु टोली कोशी प्रदेशलाई तीन विकेटले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरको खेलमा १९ दशमलव चार बलमा सवै विकेट गुमाई ११७ रन बनाएको थियो । कोशीका श्रवण यादवले २३, फिर्दोस अन्सारीले २२ रन, दिपेश कंडेलले अविजित २१ रन र सुजन थपलियाले १६ रन बनाएका थिए ।
मधेशका प्लेयर अफ द म्याच अविनाश तिबारीले तीन विकेट ,रन्जित कुमारले तीन विकेट ,राजेश यादव र हरिशंकर साहले दुई–दुई विकेट लिएका थिए । जवाफमा ११८ को लक्ष्य पछ्याएको मधेशले १९ दशमलव तीन बलमा सात विकेट गुमाई बिजयी भएको छ। मधेशकालागि अरनिको यादवले २७ रन ,मयन यादवले २४ रन र अविशेक तिवारीले १८ रन बनाएका थिए ।
कोशीका दिपेश कँडेलले तीन, फिर्दोस अन्सारी, भुपाल लुइेटेल र अंकित सुवेदीले समान एक– एक विकेट लिएका थिए ।
शुक्रबारको पहिलो खेल सुदुरपश्चिम प्रदेश र नेपाल प्रहरी तथा दोस्रो खेल कर्णाली प्रदेश र त्रिभुन आर्मी क्लव विच खेलवीच हुने मोरङ क्रिकेट सँघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिनु भयो ।–––