विराटनगर, १ असार ः कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रु ३५ अर्ब २७ करोड ९३ लाखको बजेट विनियोजन गरेको सार्वजनिक गरेको छ ।
कोशी प्रदेशको प्रदेश सभा नियमावली, २०७४ को नियम ११४(१) बमोजिम आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आर्थिक वर्ष २०८१÷८२ को लागि राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नु भएको हो ।
विनियोजन बजेट मध्ये चालु खर्च रु १४ अर्ब ४७ करोड २३ लाख र पुँजीगत खर्चतर्फ रु १६ अर्ब २० करोड २०, वित्तीय व्यवस्था रु दुई करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ रु चार अर्ब ५८ करोड ५० लाख विनियोजन भएको छ । चालु खर्च मध्ये सङ्घीय अनुदान फिर्ता रु तनि अर्ब रहेको छ ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये प्रदेश सरकरको आन्तरिक राजस्वबाट रु चार अर्ब ९८ करोड, राजस्व बाँडफाँडबाट रु १२ अर्ब ४० करोड आठ लाख, सङ्घबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रु आठ करोड ९४ लाख, समपुरक अनुदानबाट रु ६५ करोड ५० लाख, विशेष अनुदानबाट रु ७८ करोड एक लाख गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा रु ३१ अर्ब ९२ करोड ३४ लाख खर्च व्यहोर्ने र बाँकी नगद मौज्दातबाट रु तीन अर्ब २५ करोड तथा वैदेशिक अनुदानबाट रु १० करोड ५९ लाख व्यहोर्ने सार्वजनिक बजेटमा उल्लेख गरिएको छ ।–––