

विराटनगर,६ असार ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार सडक दुर्घटनाबाट हुने जनधनको क्षति न्यूनिकरण गर्न सम्वेदनशील भई कार्य गरिरहेको बताउनु भएको छ।
प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन प्रहरी कार्यालय इटहरी सुनसरीद्वारा संयुक्त रुपमा शुक्रवार बिराटनगरमा आयोजित ट्राफिक सप्ताह –२०८२ को शुभारम्भ गर्दै उहाँले आवश्यक नीति निर्माण गरी ट्राफिक प्रहरीलाई साधन सम्पन्न गराई नागरिकमा दुर्घटना न्यूनिकरण सचेतना कार्य गरिरहेको विचार राख्नु भयो ।
मुख्यमन्त्री कार्कीले आजका विद्यार्थी भोलिका मुलुकको कर्णधार भएकोले विद्यालयस्तरमा ट्राफिक दुर्घटनामा न्यूनियनकरण सचेतना कार्यलाई अभियानका रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनु भयो ।
उहाँले प्रदेश ट्राफिक कार्यालयले आगामी साउन १ गतेदेखि सडक दुर्घटना न्यूनियनकरण गरेका कार्यहरुलाई तथ्याङ्गत रुपमा सार्वजनिक गर्न समेत निर्देशन दिनु भयो
मुख्यमन्त्री कार्कीले सार्वजनिक सवारीका धनीले सवारी चालकले सवारी सञ्चालनको क्रममा देखाउने व्यवहार, हाउभाउ सम्बन्धमा सचेत भई निगरानी गरेमा दुर्घटना घटाउन सहयोग पुग्ने सुझाव दिनु भयो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रदेशमा सडक दुर्घटना,लागु पदार्थ दुव्र्यशन र आत्महत्या मुख्य चुनौतीको रुपमा रहेकोले यसलाई न्यूनिकरण गर्न सचेतना कार्यक्रम अभियानका रुपमा सञ्चालन गर्ने जानकारी दिनु भयो ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रदेश प्रहरी कार्यालय निमित्त प्रमुख गोविन्द अधिकारी, प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सन्तोष श्रेष्ठले सवारी दुर्घटनाका कारणले जनधनको क्षति वृद्धि भइरहेकोले यसको न्यूनियनकण गर्न सरोकारवालाहरुलाई आग्रह गर्नुभयो।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत प्रदेशका १४ जिल्लामा दुर्घटना न्यूनियनकरणको सचेतना लगायत विभिन्न कार्यक्रमको आयोजना गरिने भएको छ।
प्रदेशमा चालु वर्षको जेठ मसान्तसम्मा पाँच हजार १०० सडक दुर्घटनामा तीन सय ८१ जनाको मृत्यु भएको प्रदेश ट्राफिक कार्यालयले जनाएको छ।
यसअघि विराटनगर ११ स्थित महेन्द्र चोकबाट निस्केको सडक दुर्घटना सचेतना प्रभातफेरी निकालिएको थियो ।––––