विराटनगर,,६ जेठ ः कोशी प्रदेशमा आर्थिक वर्ष २०८२÷८३ मा आर्थिक वृद्धिदर ३.१ प्रतिशत हुने अनुमान गरिएको छ।
प्रधानमन्त्रीको तथा मन्त्रीपरिषदको कार्यालय, राष्ट्रिय तथ्याङक कार्यालय तथा तथ्याङ्क समन्वय कार्यालय विराटनगरद्वारा आज यहाँ आयोजित प्रादेशिक लेखा अनुमानहरुको प्रदेशस्तरीय सार्वजनिकीकरण तथा अन्तरक्रिया कार्यक्रममा कार्यालयका राष्ट्रिय लेखा शाखाका निर्देशक दिनेश भट्टराईले सो तथ्याङक प्रस्तुत गर्नु भएको हो ।
कार्यालयले लेखा अनुमानका लागि पहिलो छ देखि आठ महिनाको तथ्याङ्क प्रयोग गरेको उहाँले जानकारी दिनु भयो ।
प्रदेशमा आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ३.१ प्रतिशत र आधारभूत मूल्यमा २.९ प्रतिशत रहने अनुमान रहेको छ ।
यस्तै अर्थतन्त्रको आकार रु १० खर्ब ४३ अर्ब ११ करोडको अनुमान गरिएको छ ।
चालु आर्थिक वर्षमा प्रदेशस्तरीय प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन रु दुई लाख तीन हजार ३५ रहेको छ।
सो अवसरमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले प्रदेशकले कुल ग्रार्हस्थ उत्पादनका वृद्धिका लागि आधार निर्माण गरिरहेको बताउनुभयो ।
उहाँले प्रदेशमा अर्थतन्त्र सुदृढीकरणका लागि कृषि, पर्यटन र औद्योगिकीकरणलाई प्राथमिकतामा राखेको जानकारी दिँदै उद्योग र कृषिको उत्पादन वृद्धिका लागि विशेष राहत योजना संचालनमा ल्याएको बताउनु भयो ।
प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले स्थानीय उत्पादनको उपभोगमा जोड दिनु भयो ।
प्रदेशका मुख्यमन्त्रीका आर्थिक सल्लाहकार मोहनप्रसाद सुवेदीले आयात प्रतिस्थापन गर्न सके कूल ग्राहस्थ्य उत्पादन वृद्धि हुने विचार राख्नुभयो ।
राष्ट्रिय तथ्याङक कार्यालयका उपप्रमुख ढुण्डीराज लामिछाने र तथ्याङ्क समन्वय कार्यालय मोरङका प्रमुख सुभाष अधिकारीले तथ्याङ्कलाई नीति र बजेट निर्माणमा प्रयोग गर्न आग्रह गर्नु भयो ।–––